Category Archives: गीतहरू (Songs)

न्यास्रो ।

न्यास्रो लाग्यो जिन्दगीमा विदेशिएर तिमी जाँदा

मन मेरो बेचैन भयो तिम्रो यादमा रूँदा ।

 

गैर्हीखेतको धानका बाला तिम्रै याद गर्छन् ।

पाखाबारीका फापर पनि तिम्रै बाटो हेर्छन् ।

तिम्रै बाटो हेरेर म सधैं कुरी बस्छु।

दुःखलाई बिर्सेर तिम्रै झल्कोमा पस्छु ।

 

कुटमेरोको बुटाले पनि तिम्रै कुरा गर्छन् ।

लैनोगाईले कहाँ छ भनी तिम्रै बारे सोध्छन् ।

मन मेरो बहलाउने कुनै उपाय छैन ।

गार्हो भयो तिमी बिना समय बिताउन ।

 

स्थानः आनन्दगृह, हेटौंडा, नेपाल (२००८)

Advertisements

दिव्य आगमन ।

भान्छा भित्र धुँवा भए त के भो
चूल्हो बल्छ भने सधै उज्यालो ।
आँखा मिच्दैमा मिल्दैन  भन्न रूवायो
चेतनाले जवाफ दिन्छ गतिलो ।

एकजुटमै छ हाम्रो भविष्य
धैर्यताले गर्छ काम तमाम ।
प्रतिष्ठित हरेक पल सुनौलो
प्राकृतिक विजय हाम्रो उद्गम ।

आधुनिक त्यागी विचारधारा
संवेदनशिल हाम्रो भाव जागरण ।
सृजनशिल दुरगामी प्रदर्शन
विजयपथमा दिव्य आगमन ।

– मुसलधारे
स्थानः फुजैराह, संयुक्त अरब ईमारात (जनवरी, २०१३)
http://www.musaldhare.com

मझधारमा ।

 

मझधारमा गीत गाउँदा
परेली पो चल्बलाएछ ।
तिम्रो न्यानो साथ पाउँदा
जुनेली रातले गिज्याएछ ।

फूल जस्तै तिम्रो रूपले
आकर्षित गरिरहेको छ ।
नशालु तिम्रो मुस्कानले
यो मन खल्बलीरहेको छ ।

निष्फिक्री घुम्न थाले
तिम्रो असीम प्यारमा
चुमे तिमीलाई भित्रैदेखि
यो बसन्त बहारमा ।

 

स्थानः आनन्दगृह, हेटौंडा, नेपाल (२००८)

विश्वबासी ।

gdee
पासपोर्ट बिनाको संसार
रहिदिएको भए कस्तो हुन्थ्यो ।
हामी सबै विश्वबासी
भैदिएको भए कस्तो हुन्थ्यो ।

 

सारा देशहरू बिच सीमा मेटाएर
सम्प्रदायिक धर्महरू ढिक्का भएर,
जातीय, वर्गीय कुण्ठित मनहरू
हाँसीखुशी रहन चाहने तनहरू,
आपसी मेलमिलापमा बाँच्दै
शत्रुताको भावना त्यागी दिएको
भए कस्तो हुन्थ्यो ।
हामी सबै विश्वबासी
भैदिएको भए कस्तो हुन्थ्यो ।

 

एक मुद्रा एक अर्थनीति ल्याएर
एक भाषा, एक समाज बनाएर,
एक अर्कामा तेर्साइएका शस्त्रअस्त्रहरू
आकाश तथा समुन्द्रका काँडेबारहरू,
छिनो तथा हतौडाले तोड्दै
साझा आकाश र बराबर पानी
बाँडी दिएको भए कस्तो हुन्थ्यो ।
हामी सबै विश्वबासी
भैदिएको भए कस्तो हुन्थ्यो ।

 

स्थानः आनन्दगृह, हेटौडा, नेपाल (२००८)

 

घनघोर मायामा ।

घनघोर मायामा हुरी आउँदा आशा ढलेछ ।
सम्हाल्दा सम्हाल्दै पनि आगो लागेछ ।

छोडेर जानु नै थियो त किन माया लाउनु ।
लालाबाला बिचल्लीमा पारी किन घर भाँडनु ।
अरूलाई हँसाएर मलाई पार्यौ फसादमा ।
बालबच्चा आमा गुम्दा रून्छ नि यादमा ।

सन्तानको पोषण गर्छु, भगवानले पक्कै देलान ।
बुद्धि भ्रष्ट तिमीलाई मातृत्वले सराप्लान ।
आधा जीवन यसै त गै गो, गुजारामा चलाउँछु ।
अनाथ छोराछोरीलाई नङ्ग्रा खियाई पढाउँछु ।

स्थानः परमास जया, जोहर, मलेसिया (फेब्रुअरी, २००७)

सूर्य अस्त नेपाली मस्त ।

सूर्य अस्त नेपाली मस्त
भन्थे बाजेले ।
दिनभरी काम थाकेको ज्यान
खान्थे रक्सी रे ।

हातमा बियर ओ मा डियर
भन्दै नाचेको ।
कुखुराको खुट्टा मायाको बुट्टा
झ्याम्मै गाँसेको ।

साथीभाई हाँसी र खेली
गीत गाएको ।
रक्सीको तालमा बेहोशी हालमा
झगडा गरेको ।

बिर्सेनी मैले घरको व्यथा
सम्पत्ती सकाको ।
पुरानो माया सम्झी सम्झी
भक्कानो छाडेको ।

लहै साथी रक्सीको झोलले
मलाई बिगार्यो ।
घरबार मेरो उजाड भयो
कर्मले धिक्कार्यो ।

स्थानः ललितपुर, नेपाल (जुन, २००३)

तिम्रो मेरो बिच ।

तिम्रो मेरो बिच जे हुन्छ
सम्बन्ध गाढा हुन्छ,
अकल्पनीय हुन्छ ।

हालत के छ भनी कसरी म सम्झाउँ
निःशब्द बनी टोलाईरहन्छ ।
कोल्टे फेरी माया गाँस्दा
मनमा उल्झन गढिरहन्छ ।

चाहत के छ भनी कसरी म रिझाउँ
निस्फिक्री आत्मा धड्किरहन्छ ।
साउती गरी माया लाउँदा
दिलको धडकन बढिरहन्छ ।

स्थानः परमास जया, जोहर, मलेसिया, (फेब्रुअरी, २००७)

छचल्केको जीवन

छचल्केको जीवन

February 19, 2010 at 11:18am, Jebel Ali, Dubai

छचल्केको जीवन आँधीसंगै
बेमौसमी माया उजाड रंगै ।
मायामा कहाँ थियो र खोट
तिमीले किन पुरयायौ चोट ।

तीब्र बेगमा हुत्तेर माया धारमा परेछ
धमिलो बाढीमा डुबेर माया झारमा परेछ ।
रोपेको मायामा तुषारापात परिदियो
फुलेको पिरती शीतलहरले खाईदियो ।

कुलेलाम ठोकाईमा काँढेतारमा परेछ
बिजुलीको चम्काईमा माया मारमा परेछ ।
गोढेको मायामा असिना परिदियो
फक्रेको पिरती पहिरोमा मरिदियो ।

चम्चा ।

चम्चा चम्केर चम्काको
गम्छा गम्केर गम्काको

बेल्नाले रोटीलाई ताकेछ,
रोटी चौकीसंगै टाँसेछ ।
बेल्ना गमक्क गम्केछ,
रोटी टमक्क टम्केछ ।

तातो तेलमा रोटी जल्दा,
बेल्ना झसङ्ग झस्केछ ।
चौकी गहभरी आँसु अनि,
मन चसक्क चस्केछ ।

चम्चागिरी गर्दागर्दै,
गम्छागिरी गरेछ ।
गम्छासंगै बेरिएर,
ग्वार्लाम्म तल झरेछ ।

February 19, 2010 at 11:38am, Jebel Ali, Dubai

साँच्चै नै ।

साँच्चै नै ।

साँच्चै नै तिम्रो याद आउँछ,
जिन्दगीमा टाढा गए पनि ।
साँच्चै नै तिम्रो माया लाग्छ,
दुई मुटु टाढा भए पनि ।

हरेक कथामा तिम्रो साथ पाउने गर्छु,
हरेक व्यथामा तिमीलाई याद गर्ने गर्छु ।
हौसला दिने तिम्रो, अनौठो त्यो यौबन ।
हरपल सुम्पेको छु, मेरो यो जोबन ।

हरेक बेहोशीमा तिम्रो गीत गाउने गर्छु,
हरेक खुशीमा तिमीलाई प्रित लाउने गर्छु ।
प्रेरणा दिने तिम्रो, मधुर मुस्कान ।
हरदम सम्झेको छु, तिम्रो त्यो धडकन ।

– राम तामाङ
जनवरी २०१३, फुजैराह, संयुक्त अरब ईमारात

https://soundcloud.com/ramtamang/sanchai-nai-raw-practice-while