Category Archives: छेस्काहरू (Status Updates)

गोर्खेले त गजब गरेछ ।

“गोर्खेले त गजब गरेछ । लोखर्के मदमस्त छ, बेजोडले ताली पिट्दै छ ।” शुरूवाती झट्का अन्तिम सम्म कायम रहोस् । शुभकामना नेपाली क्रिकेटा ताराहरू प्रति ।

मेरी उनी होली कि नहोली?

“दिल खोली मनाऔं होली
रङ्गीबिरङ्गी रङहरू घोली
जबरजस्ती नगरौं है बोली
पछुतो पर्ला अवश्य भोली”

रङ दल्ने बहानामा नारीत्व स्पर्श गर्न पल्केकाहरू बाहेक
सबै जो वसन्त ऋतुको आगमनमा रमाईरहेका छन् लाई
फाल्गुनी पूर्णिमाको बेजोड शुभकामना । (मेरी उनी होली कि नहोली?)

ह्याप्पी होली ।

बिहान देखि बेलुकीसम्म एक हल गोरू धपाउँदै खेत जोतेर परिवार पाल्ने हली दाईलाई ह्याप्पी हली , दिउँसै एक स्टील बजाएर ह्वास्स सास गनाउने गरी नानाथरी बकेर हल्लिने दाईलाई ह्याप्पी हल्ली तथा अनेक थरिका रङ, अविर दलेर, पानी छ्यापाछ्याप गरी पिच्कारी हान्ने र थाहै नपाई लोला बर्साउने समस्तलाई ह्याप्पी होली । होलीको दिन शुभ रहोस् । शुभकामना ।

अंशवण्डा ।

कपासको बोटमा फुलेको कपासको फूल काँचो छँदा सबै बीउहरू एकमुष्ट मिलेर बसेका हुन्छन् । जब फूल परिपक्व हुन्छ अनि सुक्न थाल्दछ, सारा बीउहरू बिस्फोट भै यत्रतत्र छरिन्छन् अनि नयाँ सृष्टिको सृजना हुन्छ । दाजुभाई, घरपरिवार पनि त्यस्तै काँचो बीउ हो जुन छिप्पिए पछि एक दिन छरपष्ट भएर अलग अलग हुनुपर्छ जुन प्राकृतिक नियम र बाध्यता पनि हो । त्यसैले दाजुभाई छुट्यो, अंशवण्डा भयो वा विवाह पश्चात छोरा अलग भयो भन्ने कुरामा टाउको दुखाउनु बेकार छ ।

फेरिएको समय-सीमा ।

रेडियो आउनु भन्दा पहिले, प्रायः जसोको घरमा बेलुकाको खाना ७ बजे हुन्थ्यो, ८ बजे सुतिसक्थ्यो अनि बिहान ३ बजे उठेर घरधन्दा सकाईसकेको हुन्थ्यो । रेडियो आए पछि, ८ बजे खाने, ९ बजे सुत्ने अनि ४ बजे उठ्ने अवस्था आयो । जब टेलिभिजन घरमा भित्रियो, १० बजे खाने, ११ बजे सुत्ने अनि ६ बजे उठ्ने प्राय भयो । जबदेखि कम्प्युटर र ईन्टरनेट घरमा भित्रियो, १२ बजे खाने, २ बजे सुत्ने अनि ९ बजे उठ्ने भो मानिसहरू । झन् मोबाईल र फेसबुक भित्रे देखि रातभरि नसुत्ने अनि दिनभरी सुत्ने जिम्मेवारी हरेकमा थपिएको जस्तो लाग्छ । पाश्चात्य मूलुकबाट सिको गरिएको प्रवृत्ति, रातभरी डिस्को र दोहोरीमा अहिलेका नयाँ पिंढीहरू झुलिएको देख्दा रात र दिन नै उल्टिएको हो कि भन्ने डर लाग्छ ।

बुढयौलीमा ।

यहाँ अस्ताउन लागेका बुढाहरू पनि भर्खरका नवजवान कन्याहरूसंग विवाह गर्छन् । कलिलो उमेरका कन्यासंग विवाह गर्दा कन्याको उमेर पनि बृद्धाको उमेरमा गाभिन्छ र बुढयौलीमा आयु बढ्छ भन्ने अन्धविश्वास मुसलमान समुदायमा मैले पाँए ।

मार्टिन लुथर किङ प्रति ।

जिन्दगी उचाईमा जिउने धेरै रहर थियो अफशोच कसैको थिचाईमा जिईरहेको छु । पापडको बेलाई भन्दा पनि धेरै कामको पेलाई अझै असह्य भैरहेको अनुभव गर्छु । हैन यो झारपात जिन्दगीबाट पात-पतिङ्गर जिन्दगीमा पाईला नसरेकै हो त? (आफैले आफैलाई प्रश्न ।) रौनक तथा उल्लासय शुभप्रभात मित्रहरू तथा जन्मदिनको शुभकामना मार्टिन लुथर किङ प्रति ।

अह्मद ।

नेपालतिर हरेक छोरा मान्छेलाई ‘बाबु’ भनेर मायाले सम्बोधन गरे जस्तै अरब तिर हरेक छोरा मान्छेलाई मायाले ‘अह्मद’ भनिदों रहेछ ।

सामुन्द्रिक चट्टान ।

यो सामुन्द्रिक चट्टानले पनि जिन्दगीमा गर्नु गर्यो भन्दै रूदै कराउँदै मेरो अघिबाट एक जना नेपाली हल्लिदै र ढल्मलाउँदै गयो । उस्ले भनेको वाक्य मेरो दिमागमा धेरै पल्ट ठोक्कियो तर पनि भन्न खोजेको कुरा ठम्याउन सकिन । बल्ल पो थाहा पाएँ रक्सी (Rock+Sea) को अंग्रेजी कोड त सामुन्द्रिक चट्टान पो रहेछ । म त हाँस्नु हाँसे ।