Category Archives: लघुकथाहरू (Short Stories)

स्कूल ड्रेस (लघुकथा)

स्कूल ड्रेस (लघुकथा)

January 11, 2011 at 9:20pm, Jebel Ali, Dubai

बाको जागिरले मात्र हामीहरूको परिवारलाई गुजारा गर्न हम्मे पर्थ्यो । दशैंको कपडा पाउन पनि एक जुनी नै कुर्नुपर्थ्यो । बा हामीलाई दशैंको कपडा कहिले हाल्ने भनेर सोध्दा, बाले एक दुई हप्तामा भन्नुहुन्थ्यो । कुर्दाकुर्दै दशैं पनि सकिन्छ, तिहार पनि सकिन्छ, एस्तो गर उस्तो गर दशैंको लुगा ल्याए छोरा भनेर बाले भन्दा उही स्कुल भर्ना हुने बेला, पुष माघ तिर स्कूलको ड्रेस् आईपुग्थ्यो । खासमा त्यही ड्रेस मेरो दशैंको लुगा अनि तिहारको लुगा अनि लोसारको लुगा बन्न पुग्थ्यो । यो लुगा पनि केही महिनामै टाँक फुटेर भुँडी देख्ने हुन्थ्यो । बिचको टाँक झरेकाले माथिल्लो र तल्लो टाँकले मात्र लगाएको सर्टलाई धान्ने गर्थ्यो । पोलिष्टरको पाईन्ट खिप चुडेर डोरीको पेटी लगाएर अड्याउनु पर्ने अवस्था आउथ्यो । हात्ती छाप चप्पल तीन ठाँउमा गाँसेको अनि फरक रंगका लोता भएको चप्पल खुबै जतनले लाउनुपर्थ्यो । यहि एक जोर कपडा अनि चप्पलले मैले बर्षदिन काट्नुपर्थ्यो ।

अरू भन्दा के कम (लघुकथा)

अरू भन्दा के कम (लघुकथा)

January 11, 2011 at 9:53pm, Jebel Ali, Dubai

काठमाडौंको एक मेनपावरबाट सिधै दलालको माध्यमबाट अन्तरबार्ता नै नदिई २० जना नेपालीहरू अफगानिस्तान जाने भनेर दुबई जान्छन् । गर्ने काम के भन्ने पनि थाहा छैन । तलब कति हो भनेर पनि थाहा छैन । सबैकुरा दुबई पुगेर नै फिक्स हुन्छ भनेर दलालज्यु भन्नुहुन्थ्यो, त्यही फाईनल अन्तरवार्ता हुने र सबै कुराहरू फिक्स हुने कुरा गर्थ्यो । आधा पैसा काठमाडौंमा तिर्नुपर्ने अनि बाँकी पैसा अन्तरवार्ता पास भए त्यहीको दलाललाई बुझाउनुपर्ने भन्थ्यो । अन्तरवार्ता फेल भए विचल्ली हुने अवस्था आउन सक्थ्यो । सबै २० जनालाई एक साथ शारजाहको एक होटलमा एक गोरा अमेरिकन अन्तरवार्ता लिन्छन्  र सोध्छन् , कस्ले कति कति पढेको छ, कसलाई के के गर्न आउँछ? मान्छेको बानी नै हो, अरू भन्दा कम के भन्ने, सबैले आफ्नो तारिफ गर्दै मैले यो गर्न सक्छु, त्यो गर्न सक्छु, मैले यति पढेको छ , मैले उति पढेको छ भनेर सबैले भने तर एक जना मगर थरका नेपालीले भने केही भन्दा पनि भनेन खाली सुनेर नै चुप लागेर बस्यो । अन्त्यमा गोराले मलाई पढे लेखेको दक्ष कामदार भन्दा पनि घरको सिसा पुस्ने एक कामदारको आवश्यक छ भनेर मगरजीलाई छनौट गरे, अरू पढेलेखेकाहरू हेरेको हेरै भए ।

आमाले हानेको चड्कन् (लघुकथा)

आमाले हानेको चड्कन् (लघुकथा)

January 11, 2011 at 10:54pm, Jebel Ali, Dubai

आमाले सधैंजसो ५, १० रूपैंया खुत्रुकेमा जम्मा गर्नुहुन्थ्यो । तरकारी बेचे पनि, मकै, धान बेचे पनि अलिकति रकम सधैं जसो जम्मा गर्नुहुन्थ्यो । राम भर्खर ५ कक्षा सकेर ६ कक्षामा भर्ना भएको हुन्छ । उ पढ्नमा तेज भए पनि  चोर्नमा उत्तिकै सिपालु थिए । उसले खुत्रुकेलाई कसैले थाहा नपाउने गरी ढल्काईमल्काई पैसा निकाल्थ्यो र साथीहरूसंगै बसेर मःम बजाउथ्यो । एक दिन घरमा भाई बिरामी हुँदा आमाले खुत्रुके फोर्नु भयो । खुत्रुकेमा राखेजति पैसा थिएन, आमा अलमल्लमा पर्नुभयो, चिच्याउँदै कसले यहाँको पैसा निकालेको भन्नुभयो । घरमा अरूपनि सदस्यहरू धेरै भएकोले यो कसको कर्तुत हो भनेर ठम्याउन आमालाई गार्हो भयो । आमाले सबैलाई यहाँको पैसा कसले चोरेको हो भनेर सोध्नुभयो । कसैले केही बोलेन । अन्त्यमा वहाँले युक्ति लगाउनु भो र एक एकलाई प्रश्न गर्नुभयो । रामले चोरेको हो भनेर रामको हाउभाउबाट नै थाहा पाए पछि आमाले रामलाई जोरले एक चड्कन् हान्नुभयो । तिम्रो काँपेको स्वर र हल्लेको खुट्टाले नै तिमीले चोरेको हो भन्ने प्रष्ट भयो त्यसैले आईन्दा यस्तो काम नगर्नु छोरा भनेर रामलाई सम्झायो । रामले पनि त्यस दिन देखि कहिले पनि त्यसो गरेन ।

बसाई सराई (लघुकथा)

बसाई सराई (लघुकथा)

January 13, 2011 at 8:18pm, Jebel Ali, Dubai

गाउँको चौबाटोमा किराना पसल चलाउने श्याम बहादुर सधैं झै पसल बन्द गरेर घरमा सुतेको हुन्छ । रातीको २ बजे एक्कासी ढोका ढकढक गरेको आवाज सुनिन्छ । तल ढोकामा को हो? किन के भो ? तलबाट एक जना कम्ब्याट पोशाकमा रक्ताम्य र घाईते भएर भुईमा लडेका एक लडाकुको क्रन्दनिय स्वर आउँछ, हेर्नुस् म पल्लो गाँउको भिडन्तमा घाईते भएर आएको छु । मसंगैका साथीहरू सबै कता गए गए । मसंग एक झोला पैसा, सुनका गरगहनाहरू छ, यसलाई जतन गरी राख्नुहोला । म १,२ हप्तामा लिन आउँछु , राखे बापत केही पैसा तपाईलाई पनि दिन्छु र यो कुरा कसैलाई पनि थाहा नदिनु । यति भनेर त्यो घाईते त्यहाँबाट गयो तर श्याम बहादुर र उस्का जहानलाई भने रातभरी निद्रा लागेन । उनीहरूले सो पैसा र गहना जतनले कसैलाई थाहा नहुने गरी राखे । २ हप्ता भयो, १ महिना भयो, बर्षौ दिन बित्यो, त्यो व्यक्ति कहिले फर्केन ।

आजकल श्यामबहादुरले किराना पसल छोडी गाडी व्यवसाय गर्न तिर लागेको छ, ८ वटा रात्रीबस, १० वटा भाडाका ट्रक अनि काठमाडौमा नयाँ घरघडेरीका साथ बसाई सराई गरेको छ । १ छोरा अमेरिकामा बसेर पढछन्  भने एक छोरीको भर्खर बडो बन्दोबस्तले बिहे गरिदिएको छ ।

मैले पोखेका शब्दहरू (लघुकथा)

मैले पोखेका शब्दहरू (लघुकथा)

January 15, 2011 at 8:49pm, Jebel Ali, Dubai

कुमार दुबई आएर सेक्युरिटी गार्डको काम गरेको पनि लगभग ७ बर्ष भयो । घरमा छोराछोरी अनि अरू परिवारको मायाले उनलाई किन हो तान्न सकेको छैन भन्ने लाग्थ्यो । किनकी उसले मजदुरी गरेर कमाएको पैसा, यतै नै मोज गरेर सकाउँथ्यो । कहिलेकाँही खर्च गरेर बचेको पैसा मात्र नेपाल पठाउँथ्यो, त्यो पनि थोरै मात्र ।  घरमा श्रीमतीले फरिया फेर्न पाएको छ,छैनः छोराछोरीले राम्रो शिक्षा पाएको छ, छैनः उसलाई कुनै मतलब नै थिएन तर यहाँ भने मनग्गे खर्च गर्थे। उसले एकजना फिलिपिनो केटीलाई हितैषी मित्र बनाएको छ भन्ने कुरा, अरू साथीहरूबाट मैले थाहा पाएँ। यहाँ सम्म कि उसले तलब बुझ्ने बैक कार्ड समेत तीनै केटीले राखेको हुन्थ्यो । थुप्रै साथीहरूले सम्झाएको रहेछ  तर दाल गलेको रहेनछ । जसले जे भने पनि उसले नमान्ने रहेछ ।

उसलाई सही बाटोमा ल्याउन मैले पनि प्रयत्न गरे । साथीको मार्फत् उसलाई भेटे, अगाडि राखेर कुरा गरे । उसमा म परिवर्तन चाहन्थे तर उसले मैले पोखेका शब्दहरूलाई कुनै स्थान नै दिएन । हरेक प्रश्नलाई उसले गलत अर्थले जवाफ दिन्थे । लगभग १ घण्टाको बसाईमा उसको मन परिवर्तन गर्न मैले सकिन । सायद मेरो सम्झाईमा नै कुनै कमि थियो कि? वा उसको भावनालाई  कुल्चेर मैले कुनै पाप त गरिन भन्ने लाग्थ्यो । खुल्ला विश्वमा जसलाई जे मन लाग्यो गर्न पाउने स्वतन्त्रता के मैले मिचेकै हो त? वा कुनै दिन के समयले उसमा परिवतर्न ल्याउँला ?

बिदेश यात्रा (लघुकथा)

बिदेश यात्रा (लघुकथा)

January 15, 2011 at 9:31pm, Jebel Ali, Dubai

मकवानपुरको दुर्गम गाँउ राक्सिराङबाट नर बहादुर चेपाङ बिदेश काम गर्न जाने भनेर पासपोर्ट बनाएर काठमाडौं आएछ । घरमा भएका सबै गाईबस्तु, कुखरा, बाख्रा, अन्नपात आदि बेची पैसा जम्मा पारी घरबाट टीका लगाएर बिदावारी भएर निस्केको रहेछ । बिचरा नरबहादुर सोधखोज गर्दै एउटा मेनपावरमा पुगेछ र मलाई कतार जानु पर्यो भनेर भनेछ । सो मेनपावरले १,२ दिनमा नै हामी भिसा निकालिदिन्छौं, पेश्की वापत चालिस हजार बुझाउनुपर्छ भनेछ । उसले पैसा पोल्टाबाट निकालेर दिएछ । २ दिनमा भनेको १ महिना भै सक्दा पनि भिसा नआएपछि उसले रिसाएर पैसा फिर्ता माग्दा मेनपावरले तपाईको फ्लाईट भोली बिहानै छ, तयार भएर बस्नु मेरो मान्छे तपाईलाई होटलमा लिन आउँछ र एअरपोर्टसम्म छोडिदिन्छ भनेर भनेछ ।

अब चाँही बिदेश पुगिने भो भनेर  हस्याङफस्याङ प्लेन चढ्नमा तल्लिन हुन्छ, नरे । प्लेनको अनुभवहरू पनि संगालिन्छन् । प्लेन चढ्दा कुरा गर्न हुन्न भन्ने पाठ शुरूमा नै मेनपावरले पढाईसकेको हुनाले  पुरै यात्राभर उ चुप भएर बस्छ । प्लेन अवतरण गर्छ । तिमी जस्ता अरू पनि थुप्रै नेपालीहरू बैदेशिक रोजगारमा जाने हुनाले प्लेन भित्र उनीहरूसंग झट्ट संगत नगर्नु भन्ने मेनपावरको भनाई याद आउँछ र कोही संग पनि केही प्रतिक्रिया गर्दैनन् उनी ।   जब उ प्लेनबाट बाहिर निस्कन्छ त पुरै पहाडै पहाडै देखिन्छ । सबै नेपाली नै नेपाली देखिन्छ । मरूभूमि हुन्छ भन्थे यहाँ त हरिया पहाड छ भनेर अन्कनाउँछ । अब त भएन, कसैलाई सोध्नु पर्यो भनेर नजिकैको चियापसलमा गएर सोध्छ, हजुर यो कतार हो?

चिया पसलमा चिया खाईरहेका सबैजना गलल्ल हाँस्छ र भन्छ, यो त ताप्लेजुङ हो ।

त्यो रात (लघुकथा)

त्यो रात (लघुकथा)

January 21, 2011 at 10:02pm, Jebel Ali, Dubai

रातभरि सुत्नै सकिएन । कहिले घोडा हिंडेको आवाज सुनिने, कहिले बच्चा रोएको अनि चिच्याएको आवाज सुनिने । घर छाउने खर काट्न गएका पल्ला घरे मथुरा काकाले व्यक्तिगत घटना सुनाउँदै थिए । भित्री जंगलमा खर काट्न राती नै जानुपर्ने, दिउँसो बनपालेले भेटे, समात्ने डरले अधिकांश गाउँले राती नै जाने गर्थे । दाउरा बटुल्नेहरू दाउरा काट्थे । खर काट्नेहरू खर काट्थे । एकरात खर काट्न सकिएन । राती १२ बजे एक्कासी आँधी हुरी आए जस्तो भो, पानी खुबै पर्यो । भिजेको खर गह्रौ हुने हँदा त्यो रात नकाट्ने बरू बडेमानको एउटा रूखमुनी सुत्ने सल्लाह भो । साथीहरूसंगै हामी पनि हातको सिरानी बनाई सुत्यौं । सुतेको एक घण्टा पछि त्यहाँ विभिन्न प्रतिक्रिया हुन थाल्यो । टाउको नभएको सेतो घोडा आँउछ भन्थ्यो, हो रैछ, हाम्रो नजीकैबाट टक टक गरी दौड्यो । मेरो मनमा निकै चिसो पस्यो । कानले सुने पनि आँखा उघार्न सकिन । त्यो एकान्त रातमा बच्चा चिच्याउँथ्यो, कता कता मान्छेहरू खलबल गरेको आवाज आउँथ्यो । तर पनि डराई डराई रात छर्लङ्ग पारियो । बिरे काईलाले त त्यो जंगलमा भूतले तर्साउँछ भन्थे, हामीले पत्याएनौं तर वास्तवमा हो रहेछ । त्यो रात देखी हामी कहिल्यै जंगलमा सुतेनौ ।