के बनाएर बसे ।

के बनाउन आएको थिए, के बनाएर बसे,
कहिले मन्दिर बनाएर बसे त कहिले मस्जिद,
कहिले गुम्बा बनाएर बसे त कहिले चर्च ।

हामी भन्दा भाग्यमानी त त्यो पंक्षी रहेछ,
कहिले मन्दिरमा त कहिले मस्जिदमा,
अनि कहिले गुम्बामा त कहिले चर्चमा बसे ।
जहाँ बसे पनि बराबरीमा बसे,
हाँसी हाँसी स्वतन्त्रपूर्बक बसे ।

 
(सबैका आस्थाका केन्द्रको धुरीमा पंक्षीले बिष्टाउँदा पनि तल्तिर हामी धूपबत्ती गरिरहेका हुन्छौं, हात माथी उठाएर पुकारिरहेका हुन्छौं । एकाथरीले यस्ता पनि सोच्दा रहेछन् ।)

घनघोर मायामा ।

घनघोर मायामा हुरी आउँदा आशा ढलेछ ।
सम्हाल्दा सम्हाल्दै पनि आगो लागेछ ।

छोडेर जानु नै थियो त किन माया लाउनु ।
लालाबाला बिचल्लीमा पारी किन घर भाँडनु ।
अरूलाई हँसाएर मलाई पार्यौ फसादमा ।
बालबच्चा आमा गुम्दा रून्छ नि यादमा ।

सन्तानको पोषण गर्छु, भगवानले पक्कै देलान ।
बुद्धि भ्रष्ट तिमीलाई मातृत्वले सराप्लान ।
आधा जीवन यसै त गै गो, गुजारामा चलाउँछु ।
अनाथ छोराछोरीलाई नङ्ग्रा खियाई पढाउँछु ।

स्थानः परमास जया, जोहर, मलेसिया (फेब्रुअरी, २००७)

सूर्य अस्त नेपाली मस्त ।

सूर्य अस्त नेपाली मस्त
भन्थे बाजेले ।
दिनभरी काम थाकेको ज्यान
खान्थे रक्सी रे ।

हातमा बियर ओ मा डियर
भन्दै नाचेको ।
कुखुराको खुट्टा मायाको बुट्टा
झ्याम्मै गाँसेको ।

साथीभाई हाँसी र खेली
गीत गाएको ।
रक्सीको तालमा बेहोशी हालमा
झगडा गरेको ।

बिर्सेनी मैले घरको व्यथा
सम्पत्ती सकाको ।
पुरानो माया सम्झी सम्झी
भक्कानो छाडेको ।

लहै साथी रक्सीको झोलले
मलाई बिगार्यो ।
घरबार मेरो उजाड भयो
कर्मले धिक्कार्यो ।

स्थानः ललितपुर, नेपाल (जुन, २००३)

तिम्रो मेरो बिच ।

तिम्रो मेरो बिच जे हुन्छ
सम्बन्ध गाढा हुन्छ,
अकल्पनीय हुन्छ ।

हालत के छ भनी कसरी म सम्झाउँ
निःशब्द बनी टोलाईरहन्छ ।
कोल्टे फेरी माया गाँस्दा
मनमा उल्झन गढिरहन्छ ।

चाहत के छ भनी कसरी म रिझाउँ
निस्फिक्री आत्मा धड्किरहन्छ ।
साउती गरी माया लाउँदा
दिलको धडकन बढिरहन्छ ।

स्थानः परमास जया, जोहर, मलेसिया, (फेब्रुअरी, २००७)

अंशवण्डा ।

कपासको बोटमा फुलेको कपासको फूल काँचो छँदा सबै बीउहरू एकमुष्ट मिलेर बसेका हुन्छन् । जब फूल परिपक्व हुन्छ अनि सुक्न थाल्दछ, सारा बीउहरू बिस्फोट भै यत्रतत्र छरिन्छन् अनि नयाँ सृष्टिको सृजना हुन्छ । दाजुभाई, घरपरिवार पनि त्यस्तै काँचो बीउ हो जुन छिप्पिए पछि एक दिन छरपष्ट भएर अलग अलग हुनुपर्छ जुन प्राकृतिक नियम र बाध्यता पनि हो । त्यसैले दाजुभाई छुट्यो, अंशवण्डा भयो वा विवाह पश्चात छोरा अलग भयो भन्ने कुरामा टाउको दुखाउनु बेकार छ ।

फेरिएको समय-सीमा ।

रेडियो आउनु भन्दा पहिले, प्रायः जसोको घरमा बेलुकाको खाना ७ बजे हुन्थ्यो, ८ बजे सुतिसक्थ्यो अनि बिहान ३ बजे उठेर घरधन्दा सकाईसकेको हुन्थ्यो । रेडियो आए पछि, ८ बजे खाने, ९ बजे सुत्ने अनि ४ बजे उठ्ने अवस्था आयो । जब टेलिभिजन घरमा भित्रियो, १० बजे खाने, ११ बजे सुत्ने अनि ६ बजे उठ्ने प्राय भयो । जबदेखि कम्प्युटर र ईन्टरनेट घरमा भित्रियो, १२ बजे खाने, २ बजे सुत्ने अनि ९ बजे उठ्ने भो मानिसहरू । झन् मोबाईल र फेसबुक भित्रे देखि रातभरि नसुत्ने अनि दिनभरी सुत्ने जिम्मेवारी हरेकमा थपिएको जस्तो लाग्छ । पाश्चात्य मूलुकबाट सिको गरिएको प्रवृत्ति, रातभरी डिस्को र दोहोरीमा अहिलेका नयाँ पिंढीहरू झुलिएको देख्दा रात र दिन नै उल्टिएको हो कि भन्ने डर लाग्छ ।

अविरल झरीमा ।

अविरल झरीमा तिमीसंगै ओत लाग्दा,
व्याकुल मेरो मन सिरेटोसंगै मात लाग्दा ।

निथ्रुक्क भिजेको तिम्रो बदन, देख्दा आङ जिरिङ्ग हुन्छ ।
तिमीलाई अङ्गालो मार्दा, मन मेरो सिरिङ्ग हुन्छ ।

पिपलु छहारीको गुण, हामीले कहिले तिर्ने होला ।
जीवनसाथीको बन्धन भित्र, हामी कहिले छिर्ने होला ।

– रस अल खैमा, जुन, २०१३

चुर्लुम्म डुबेपछि ।

चुर्लुम्म डुबेपछि समुन्द्रलाई दोष दिने मान्छेको जात ।
गन्तब्यमा पुग्न नसक्दा भाग्यलाई दोष दिने मान्छेको जात ।
आफैं त सम्हालेर हिंड्न नजान्ने अनि,
अल्झेर लड्दा भुईमाथीको पत्थरलाई दोष दिने मान्छेको जात ।

ढुङ्गा, माटो र पत्थरको यो संसार पनि खै कस्तो कस्तो,
जात केलाउँदा मान्छे नै दोषी अनि ढुङ्गेयुगमा बसे जस्तो ।
एकाथरी त्यही पत्थरलाई तिखार्दै बनेको मुर्तिलाई पुज्दैछन्,
अर्काथरी अज्ञानताबश त्यही ढुङ्गाले पाईखाना पुछ्दैछन् ।

 

-राम तामाङ, मे, 2013, रस अल खैमा, संयुक्त अरब ईमारात

हिरोजेट साईकल ।

१) घरमा हिरोजेट साईकल नहुँदा आमाले रामलाईः जा छोरो चेपाङ घट्टमा गएर एक भारी मकै पिँधेर आईज भरेलाई बनाउन एकमाना पीठो छैन । राम हुन्छ भनेर एक भारी मकै नाम्लो लाएर बोकेर चेपाङ घट्टतिर लम्कन्छ ।

२) घरमा हिरोजेट साईकल हुँदा आमाले रामलाईः जा बाबु ओझाको मिलमा गएर एक भारी मकै लाईनमा राख्दे, चाँडो राखे चाँडो पालो आउँछ भरे पकाउनलाई भ्याउँछ । रामः आह् मेरो ढाड दुखिराछ, म सक्दिन । आमाः तैले बोक्नु पर्ने हैन, साईकलले बोके हाल्छ । म कैंचीमा हाल्दिन्छु मेलसम्म पुर्याईदेउन राजा । छोराः सक्दिन म भनेर पन्छिदै चोक तिर खोपी खेल्न लम्कन्छ ।

शिक्षाः सुबिधाको साधन भएपछि मान्छेले भाउ खोज्छ, व्यवहारमा परिवर्तन आउँछ ।

वास्तविकताः घरमा साईकल भित्रे देखि हिजो ढाडमा भारी बोक्न अघि सर्न लाज नमान्ने राम, आजकल साईकलमै पनि भारी बोक्न अन्कनाउँछन् । किनभनेको त उस्ले मन पराएको प्रमिशा, जस्लाई अस्ती मात्रै लभलेटर दिएको उस्ले को घर त्यही मकैमेल तिर जाने बाटोमै पर्दो रहेछ । हा हा ।
शिक्षाः मान्छे लभमा परेपछि आफ्नो वास्तविकता र हैसियत भुल्ने प्राणी रहेछ ।

छचल्केको जीवन

छचल्केको जीवन

February 19, 2010 at 11:18am, Jebel Ali, Dubai

छचल्केको जीवन आँधीसंगै
बेमौसमी माया उजाड रंगै ।
मायामा कहाँ थियो र खोट
तिमीले किन पुरयायौ चोट ।

तीब्र बेगमा हुत्तेर माया धारमा परेछ
धमिलो बाढीमा डुबेर माया झारमा परेछ ।
रोपेको मायामा तुषारापात परिदियो
फुलेको पिरती शीतलहरले खाईदियो ।

कुलेलाम ठोकाईमा काँढेतारमा परेछ
बिजुलीको चम्काईमा माया मारमा परेछ ।
गोढेको मायामा असिना परिदियो
फक्रेको पिरती पहिरोमा मरिदियो ।